तस्करसंग सेटिङमा राजश्वकै अधिकृत, कसले रोक्ने तस्करी ?

काठमाडौ, फाल्गुन १८ । पश्चिम नवलपरासीको सीमानाकाको महेशपुर नजिकै गणेशपुर र बसहियामा कवाडीको ठूलो गोदाम छ । सो गोदामबाट कवाडसंगै विभिन्न किसिमको अबैध सामान भारत जाने र भारतबाट अबैध तरिकाले विभिन्न किसिमका सामान नेपाल भित्रिने गर्दछ । केही दिनअघि महेशपुरको गणेशपुरमा झण्डै ३० गाडी कवाडीको सामान संकलन गरिएर राखिएको सुचना बाहिरियो । सो कवाड त्रिपालले छोपेर राखिएको अवस्थामा फेला पर्‍यो । यो सामान अबैध तरिकाले भारत तस्करी हुने सबैलाई जानकारीनै छ ।

यो जानकारी हुदाहुदै पनि सुचना बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा पुग्यो । त्यसपछि राजश्वका केही कर्मचारी टोली गणेशपुर पुग्छ । ती टोलीले कवाडी छोपिएको त्रिपाल हटाएर हेरिन्छ । तर स्थानीयले दिएको सुचनाको आधारमा बुटवलबाट गएका राजश्व टोली गोदाम भरी राखिएको ती सामान कवाडी हो भन्दै कुनै कारबाही नगरी बुटवल फिर्ता हुन्छ ।

नवलपरासीको सिमाक्षेत्रबाट कवाडीको नाममा विभिन्न किसिमका अबैध सामान कवाडीको नाममा भारत पठाउने र भारतबाट तस्करी गरेर विभिन्न नाकाबाट अबैधरुपमा चोरी निकासी भएको सुरक्षा निकाय, भन्सार र राजश्व बिभागका कर्मचारीलाई जानकारी हुदाहुदै पनि यहाँका कुनैपनि सरोकारवाला निकायले रोकथाम गर्ने देखिदैन। सोबारे बुटवलबाट गएका राजश्व टोलीलाई प्रश्न गर्दा गोदाममा मुख्य ब्यक्ति नभेटिएको र कवाड रहेछ भन्ने प्रश्नको उत्तर दिन्छ ।

सोही गोदाम निरीक्षणमा गएका कर्मचारीले पनि गणेशपुरको उक्त गोदाममा झण्डै ३० गाडी कवाडी सामान रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । गणेशपुरको कवाडी गोदाम भारतीय नागरिक सन्तोष गुप्ताको हो । उनको मुख्य धन्दा भनेको कवाडी तस्करी प्रमुख हो । तर यी बाहेक उनले कवाडीको नाममा अबैध सामान तस्करी हुने उनकै गोदाममा काम गर्ने एक जनाले नाम नछाप्ने शर्तमा हामीलाई जानकारी दिए । सोही कवाडी तस्करी गर्ने क्रममा झण्डै एक बर्ष अघि भारतीय प्रहरीले कवाडी भित्र ठूलो मात्रामा लागूऔषधसमेत बरामद गरेपछि उनी लामो समय फरार पनि थिए । तर पछि पक्राउ परेर भारतीय जेलबाट छुटेका ती कामदारले सुनाए । भारतीय प्रहरीले चरेस बरामद गरेपछि असली मालिकको खोजबिन गर्ने क्रममा चरेससहित पक्राउ परेका व्यक्तिले सन्तोष गुप्ताको नाम खुलाएपछि उनलाई भारतीय प्रहरीले पक्राउ गरिएको हो ।

भारतको ठुठिबारी घर भएका सन्तोष गुप्ता धेरै बर्ष अघिदेखि नेपालबाट कवाडीको नाममा चरेस र गाँजाको तस्करी धन्दा गरेको खुलेको हो । भारतीय प्रहरीले कवाडी सामान भनेर सामान्य चेकजाँच गरि छोड्दै गर्दै आएकोमा यसभन्दा पहिले पनि एकपटक चरेश र गाँजा कवाडीको डब्बामा फेला परेपछि गुप्ताको कवाडीमा निगरानी बढाएको थियो । फलस्वरूप ठूलो मात्रामा चरेस/गाँजा बरामद गर्न सफल भएको थियो ।

कवाडीको तस्करी धन्दामा लागेका उनले पछिल्लो समय यसका अलावा चाइनिज लसुनको भारत तर्फ तस्करी गर्ने धन्दा पनि चलाए । अहिले लसुन तस्करीमा सिडिओले कडाइ गरेपछि नवलपरासीबाट लसुन तस्करीमा कमि आएपनि तेस्रो मुलुकबाट आएको मकैको तस्करी भने भारततर्फ भैरहेको छ । भारतीय नागरिक सन्तोष गुप्ताले अहिले राम नरेश यादव, अनिल गुप्ता, दिलिप पाण्डेय र बब्लु सिंहलाई समेत साथमा लिएर सनईको प्रहरी चौकीका असईलाई मिलाएर पडरी नाकाबाट कवाडी तस्करी गरिरहेका छन् ।

कवाडी तस्करहरूले राजश्वमा सेटिङ मिलाउने काम राजश्वका कर्मचारी मनोज सहनी मार्फत मिलाउने गरेका छन् । कपिलवस्तु घर भएका अधिकृत सहनी नवलपरासीदेखि कपिलवस्तुसम्मका तस्करदेखि व्यापारीसम्म सेटिङ मिलाउने कर्मचारीको रूपमा चिनिन्छ ।

त्यस्तै प्रतापपुर गाउँपालिका- ५ को बसहीया सिमानाकामा एउटा ठूलो कवाडको गोदाम छ । त्यहाँबाट कवाडको नाममा विभिन्न किसिमको अबैध सामान भारत पठाउने र भारतबाट अबैध सामान ल्याउने काम हुदैछ ।
यो कवाडका मुख्य संचलाक सोही वडाका जननिर्वाचित वडा अध्यक्ष रमेश कानु बानियाँका हुन । हाल उनले आफ्नो सहयोगी हिमालय कोईरी र छोटेको जिम्मेवारीमा चलाईरहेका छन । यी नाकाबाट महिनामा करोडौं टायर लगायत कवाडका सामान अबैधरुपमा भारत तस्करी गरिन्छ । तस्करको लागि बसहीया नाका उत्तम मानिन्छ ।

पर्सा र बाराबाट रोकिएपछि अहिले नवलपरासीको ठुठिबारीबाट हुन थालेको छ। बिरगंजबाट कवाडी लिएर नवलपरासीको ठुठिबारी नाका हुदै भारत तर्फ तस्करी हुदै आएको छ। यसअघि पनि पटकपटक यसरी नै बिरगंजबाट कवाडी लोड गरेर ठुठिबारीबाट भारततर्फ तस्करी हुदै आएको थियो । अहिले नवलपरासीका नाकाबाट ठुलो मात्रामा खाली प्लास्टिक पेय बोटल, कार्टुन, पुुरानो ब्याट्री र टायर लगायत विभिन्न कवाडी सामानहरूको चोरी निकाशी भईरहेको छ।

नेपालमा संचालित रिसाईकलिङ्ग (पुनः प्रशोधन) उद्योगहरू कच्चापदार्थ (खाली प्लास्टिक पेट) को अभावमा बन्द हुने अवस्थामा पुगेका छन्। जुन कच्चापदार्थ सिमा प्रशासन , भन्सार, नेपाल प्रहरी र सशस्त्रको मिलेमतोमा निर्वाधरूपमा तस्करी भईरहेको छ। प्लास्टिक जन्य कवाड भारतमा अन्य देशबाट आयात गर्न कानुनतः प्रतिबन्धित छ ।

यी सामानहरु चोरी बाटोबाट नेपालबाट भारत तर्फ तस्करी हुने गर्दछ । यसबाट एकातिर नेपाल सरकारले न कुनै राजश्व प्राप्त गर्छ । अर्कोतिर नेपाल सरकारलाई नियमानुसार राजश्व तिरिरहेका रिसाईकलिङ्ग उद्योग बन्द हुने अवस्थामा छन् । उक्त उद्योगमा रोजगारी प्राप्त गरिरहेका हजारौं नेपाली जनता विशेषगरी महिलाहरूको रोजिरोटी गुम्ने सम्भावना बढेको छ ।

वार्षिक रूपमा ठुलो धनराशि प्लास्टिक जन्य वस्तु उत्पादन गर्न चाहिने कच्चापदार्थ खरिद गर्न विदेशी रहेको छ । नेपालमा संचालित रिसाईकलिङ्ग उधोगहरू लाई पर्याप्त मात्रामा कच्चापदार्थ पदार्थ उपलब्ध भएमा प्लास्टिक जन्य वस्तुहरू उत्पादन गर्न आवश्यक कच्चापदार्थहरू नेपालमै उत्पादन गर्न सकिन्छ । त्यसका लागि नेपाल सरकारले सिमानाकाबाट हुने तस्करी रोक्न कडाइ गर्न अति जरुरी छ।

Related posts