प्रधानमन्त्री कप क्रिकेटः गण्डकीले कर्णालीलाई ४ विकेटले हरायो

दाङ । दिपक डुम्रेकाे अविजित अर्धशतकमा गण्डकी प्रदेशले कर्णाली प्रदेशविरुद्ध ४ विकेटको जित निकालेको छ। नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत मंगलबार लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा कर्णाली प्रदेशले दिएकाे ९२ रनकाे सामान्य लक्ष्य गण्डकी प्रदेशले ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

९२ रनकाे सामान्य लक्ष्य पछ्याएकाे गण्डकीका सुरुवाती ब्याटर सस्तैमा आउट भएपछि दबाबमा परेकाे बेला दिपक डुम्रे र सुजन गाैतमले सम्हालिएर खेल्दै पारी उकासेर २९ दशमलव १ ओभरमा टिमलाई जित दिलाए। १२ ओभरकाे खेल सकिँदा २२ रनमा ६ विकेट गुमाइसकेकाे अवस्थामा दिपक र सुजनले राम्रो साझेदारी गर्दै नतिजा आफ्नाे पक्षमा पारे।

दीपक डुम्रेले सात चाैकाकाे मद्दतमा ५० रन र सुजन गाैतमले ३ चाैकाकाे मद्दतमा २२ रन बनाए। टिमलाई जित दिलाउन अविजित अर्ध शतक बनाएका दिपक डुम्रे प्लेयर अफ द म्याच भए।

कर्णाली प्रदेशका लागि दिवान पुनले ३ विकेट लिँदा दिपेन्द्र रावतले २ विकेट र युनिश ठकुरीले १ विकेट लिए। यसअघि टस हारेर व्याटिङकाे निम्ताे पाएकाे कर्णाली प्रदेशका कुनै पनि खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। कर्णालीका लागि विपिन शाहीले २० रन, अर्जुन घर्तीले १७ रन, विपिन रावलले १५ रन, हिमांशु शाहीले १२ रन बनाउनुबाहेक अरु खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा २७.२ ओभरमा अलआउट हुँदै केवल ९१ रन बन्यो।

कर्णालीलाई सस्तैमा समेट्न गण्डकीका चन्द्र पाैडेल, सुवास भण्डारी र विपिन खत्रीले समान २ विकेट लिए। यस्तै, सन्दीप पराजुली र अमृत गुरुङकाे नाममा १-१ विकेट रह्याे। प्रतियोगितामा गण्डकीले दुई खेलमा पहिलाे जित निकाल्दै २ अंक जाेडेकाे छ। यसअघि गण्डकी प्रदेशले सुदूरपश्चिम पश्चिम प्रदेशसँग ६ विकेटको हार व्यहाेरेकाे थियाे।

Related posts