परीक्षा केन्द्रमा अनियमितता भएको भन्दै चार शिक्षक गार्डलाई निष्कासन

सुनसरी।सुनसरीको दुहबी र गढीका दुई परीक्षा केन्द्रमा अनियमितता भएको भन्दै चार शिक्षक गार्डलाई निष्कासन गरिएको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले परीक्षामा चिट चोर्न सहयोग गरेको भन्दै उनीहरूलाई हटाएको हो।

गढी गाउँपालिका–२ स्थित श्री सरस्वती मावि औरावनी परीक्षा केन्द्रबाट निजी विद्यालयका दुई शिक्षक गार्ड निष्कासन गरिएको छ। त्यस्तै, दुहबी–५ स्थित श्री सरस्वती मावि परीक्षा केन्द्रबाट पनि दुई शिक्षक गार्ड हटाइएका छन् ।परीक्षार्थीलाई चिट चोर्न दिनुका लागि प्रति शिक्षक १० हजार रुपैयाँ घुस लिएको कुरा उनीहरूले प्रमुख जिल्ला अधिकारीकै अगाडि स्विकारेपछि निष्कासनको निर्णय भएको परीक्षा केन्द्र अध्यक्ष तेज प्रसाद तिमिल्सिनाले जानकारी दिए।निष्कासन गरिएका शिक्षक गार्डको ठाउँमा आइतबारदेखि नयाँ शिक्षक खटाइने प्रजिअ मिश्रले बताएका छन्।

सरस्वती मावि दुहबीका केन्द्राध्यक्ष तेज प्रसाद तिमिल्सिना र कर्मचारी संजिप गुप्तालाई भने सचेत गराइएको छ।यस वर्ष सुनसरीबाट १३,६६३ विद्यार्थी एसईई परीक्षा दिइरहेका छन्। दुहबीका तीन परीक्षा केन्द्रमा ५९५ जना परीक्षार्थी सहभागी छन्। सरस्वती मावि परीक्षा केन्द्रमा सात निजी र एक सरकारी गरी आठ विद्यालयका २५८ जना विद्यार्थी परीक्षा दिइरहेका छन् भने महेन्द्र मेमोरियल परीक्षा केन्द्रमा सरस्वती मावि र थर्ड आइ स्कुलका १६८ जना परीक्षार्थी छन्।

परीक्षा अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी मिश्रसँगै जिल्ला प्रहरी कार्यालय प्रमुख सुमन तिमिल्सिना, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना प्रमुख, इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख तथा स्थानीय सञ्चारकर्मीहरू समेत सहभागी थिए

Related posts