लालीगुराँस फुलेर वन पाखा ढकमक्क

बाजुरा , चैत ११ । चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जंगल नै राताम्यै भएपछि लालीगुराँस सँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन्। यस वर्ष माघ महिनादेखि नै लालीगुराँस फुलेर बाजुराका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल र ऐंसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरू भएको छ।

बाजुरा जिल्लाको बडिमालिका , बुढिनन्दा नगरपालिका र खप्तड छेडेदह, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिकाका जङ्गलमा ढकमक्क लालीगुराँस फुलेर वन पाखा नै राताम्यै देखिन थालेका छन्। फागुनको मध्यदेखि कोपिला लाग्न सुरू हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै बाजुराका विभिन्न ठाउँको जङ्गलमा लालीगुराँस ढकमक्क फुलेका हुन्।

वन जङ्गलमा माघ महिनादेखि नै लालीगुराँस फुल्नाका साथै जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका थिए। लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ।

‘लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ’, हिमाली गाउँपालिका –६ बृद्ध नरजित रावलले बताए । लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको असर देखिएको हिमाली गाउँपालिका –६ का चिन बहादुर रावलले उल्लेख गरे, ‘अहिले बेमौसममा नै काफल, लगायत जङ्गली फल पाकेको र गुराँस फुलेको देख्न पाइएको छ।’ 

Related posts