नेपाली बैंक र कम्पनीहरुमार्फत ३४ अर्ब बढीको शंकास्पद कारोबार !

‘फिनसेन फाइल्स’ का अनुसार, सन् २००६ को डिसेम्बरदेखि २०१७ को मार्च महिनासम्म ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसार-पसार गरेको खुलेको भएको छ । सुन, अलकत्रा, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएका देखिन्छन् ।

शंकास्पद धनको कारोबार र ओसार-पसार गरेको भन्ने ‘फिनसेन फाइल्स’ को सूचीमा स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, मेगा बैंक, हिमालयन बैंक, कास्कीको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल बाङ्लादेश बैंकको नाम उल्लेख रहेको छ ।

यसैगरी ‘फिनसेन फाइल्स’ अनुसार, यस्तो कारोबार र ओसार-पसारमा प्रत्यक्ष संलग्न १० कम्पनीहरूमा रौनियार ब्रदर्स एण्ड कम्पनी, शुभ समृद्धि टे्रडर्स प्राइभेट लिमिटेड, सास्ता ट्रेडिङ कम्पनी, सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालि, एलडी इन्टरनेशनल प्रालि, फेल्ट एण्ड यार्न प्रालि, ओमन्स पेपर क्राट कम्पनी, नेपाल इन्भेष्टमेन्ट, एक्मी मनी ट्रान्सफर कम्पनी र सन्नी इन्टरप्राइजेज छन् ।

यीमध्ये केही कम्पनीहरूले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नै नगरी रकम ल्याउने र लैजाने काम गरेको समेत देखिएको छ । यसबाहेक पनि झन्डै एक दर्जन जति नेपाली कम्पनीहरू अप्रत्यक्ष रूपमा संलग्न छन् । तर, उनीहरूको संलग्नताबारे सोधिएको प्रश्नमा नेपालका बैंक तथा कम्पनीहरूले ‘उल्लिखित काममा आफूहरूको कुनै संलग्नता नरहेको’ भनेर शंकास्पद कारोबारलाई अस्वीकार गरेकापनि छन् ।

खुलासाअनुसार ११ वर्षको अवधिमा यी बैंक र कम्पनीहरूबाट कुल २९ करोड २७ लाख ९६ हजार ३८७ अमेरिकी डलर (रु.३४ अर्ब ८४ करोड २७ लाख ७० हजार १०२) शंकास्पद धन कारोबार र ओसार पसार भएको हो । यो रकम आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारले संसदमा प्रस्तुत गरेको बजेट बराबर रहेको छ ।

आईसीआईजेबाट खोपकेले प्राप्त गरेका कागजातहरू विश्लेषण गर्दा नेपाल जोडिएर तीन प्रकृतिमा कारोबारहरू भएको देखिन्छ ।

पहिलो, यो अवधिमा नेपालबाट कति शंकास्पद रकम बाहिरियो र कति रकम भित्रियो भन्ने खुलासा हुन्छ ।

दोस्रो, नेपालसहित विश्वका विभिन्न मुलुकमा भएको एकमुष्ट शंकास्पद कारोबारको रकम फेला पर्छ । तर, त्यसमध्ये नेपाल जोडिएको यकिन अंक कति हो भन्ने खुल्दैन ।

तेस्रो, नेपाली नाम, थर, ठेगाना उल्लेख गरेका व्यक्ति तथा कम्पनीले विदेशमै शंकास्पद धन कारोबार र ओसारपसार गरेको समेत देखिन्छ भने यसमा नेपालका बैंक तथा वित्तीय संस्था र कम्पनीहरू प्रयोग भएको देखिँदैन ।

 

Related posts