श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत हो : उपराष्ट्रपति यादव

काठमाडौँ  । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको मार्गमा अग्रसर हुन सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ठमेलद्वारा आज आयोजित ‘श्रीकृष्णाष्टमी तथा चैतन्य झाँकी अनावरण एवं प्रवचन’ कार्यक्रममा उनले श्रीकृष्णको जीवन केवल धार्मिक आस्थाको विषय नभई गहिरो आध्यात्मिक ज्ञानको स्रोतका रूपमा  रहेको बताए ।

श्रीकृष्णको बाल्यकालदेखि युवावस्थासम्मका घटनाहरूले सेवा, नेतृत्व, समता र निष्काम कर्मको सन्देश दिएको स्मरण गर्दै उपराष्ट्रपतिले भने, ‘अर्जुनको सारथी बनेर श्रीकृष्णले सेवा भावको उच्चतम उदाहरण प्रस्तुत गर्नुभयो, जसले नेतृत्व शक्ति मात्र होइन, सेवा पनि हो भन्ने देखाउँछ ।’
 
 
‘श्रीकृष्णको कर्मयोगको दर्शनले व्यक्ति र समाजलाई कर्मशील, उत्तरदायी र विवेकी बनाउने सूत्रहरू प्रदान गर्दछ’, उनले भने- ‘यी सूत्रहरू आत्मसात गर्न सके समाजमा सद्भाव, सांस्कृतिक समृद्धि, नैतिक पुनर्जागरण र जीवनको सार्थकता प्राप्त गर्न सकिन्छ ।’ उपराष्ट्रपति यादवले ब्रह्माकुमारी संस्थाले स्थापनादेखि नै नेपाली समाजमा शान्ति, सद्भाव र आध्यात्मिक चेतना फैलाउने कार्यमा योगदान दिँदै आएकोमा प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।

Related posts