काठमाडौँ । मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो । कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको छ । मनसुन ढिला सक्रिय भएकाले मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए ।
धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । तराईमा कूल उत्पादनको ७० प्रतिशत र पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको जनाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिकटन धान उत्पादन भएको थियो ।
यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुने जनाइएको छ ।






