बनियानी (झापा), भदौ १९। नेपाली कांग्रेस नेता डा शशाङ्क कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन हुन सक्ने बताउनुभएको छ ।
एक अर्को प्रसंगमा नेता कोइरालाले लोकतान्त्रिक पद्धतिमा पार्टी सञ्चालन ‘चेन अफ कमान्ड’बाट हुनुपर्नेमा जोड दिँदै निर्वाचित सभापतिले सबै कार्यकर्तासँग समान व्यवहार गर्नुपर्ने धारणा राख्नुभयो ।
कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले उपभोक्ताका आवाज सङ्कलन गरी सरकारसम्म पु¥याइने बताउनुभयो । पार्टीको महाधिवेशन २०८३ मङ्सिरभित्रै हुने र त्यसका लागि समयमै क्रियाशील सदस्यता नवीकरण सक्न उहाँले आग्रह गर्नुभयो ।
ऊर्जामन्त्री दीपक खड्काले अस्थिर सरकारका कारण अर्थतन्त्र कमजोर भएको उल्लेख गर्दै त्यसैले पनि कांग्रेस एमालेको संयुक्त सरकारको आवश्यकता भएको बताउनुभयो । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उपभोक्ता, उत्पादक र बिक्रेताबीच सन्तुलन कायम गर्न राज्यको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै खाद्य मिसावट, विषादी प्रयोग र नियमनकारी निकायको कमजोरीबारे चिन्ता व्यक्त गर्नुभयो ।
केन्द्रीय सदस्य सरिता प्रसाईं, नेताहरू गोमा भट्टराई, उर्मिला थपलिया, प्रेमराज महर्जन, कांग्रेस झापा सभापति देउकुमार थेवेलगायतले सम्बोधन गर्नुभएको थियो ।






