महोत्तरी । गत मङ्गलबार साँझ ‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदी/थुनुवा फर्कन थालेका छन् । महोत्तरी कारागार प्रशासनले लहलहैमा भागेका कैदी÷थुनुवालाई फर्कन अपिल गरेसँगै बुधवार राति तीन जना फर्केका कारागार कार्यालयका निमित्त प्रमुख रवीनचन्द्र ठाकुरले पुष्टि गरे ।
‘हामीले कैदी/थुनुवालाई तपाईंहरु फर्कनोस्, कुनै सर्त र थप कारबाही हुँदैन भनेर अपिल गर्यौँँ’, ठाकुर भन्छन्, ‘त्यो अपिल सुने/पढेपछि उहाँहरूको मन फिरेको छ, तीन जना आइपुग्नुभयो, अन्य केहीले आउँदैछौँ भन्नुभएको छ ।’ कारागार कार्यालयले बुधवार विज्ञप्ति जारी गर्दै भागेका कैदी/थुनुवालाई भागेबापत कुनै सजाय नगरिने जनाउँदै २४ घण्टाभित्र आइपुग्न अपिल गरेको थियो । सो अपिलमै स्वेच्छाले नफर्कनेको हकमा खोजी गरेर भेट्टाइँदा थप सजाय गरिने उल्लेख गरिएको थियो ।






