टेनेसी । टेनेसीको एक हतियार तथा विस्फोटक पदार्थ कारखानामा शुक्रबार भएको ठुलो विस्फोटपछि बेपत्ता १६ जनाको मृत्यु भएको अनुमान गरिएको छ। हमफ्रेज काउन्टीका शेरिफ क्रिस डेभिसका अनुसार शनिबार साँझसम्म पनि बेपत्ताहरू जीवितै फेला पर्ने आशामा उद्धार टोलीहरू काम गरिरहेका थिए, तर अब उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ।
अधिकारीहरूले सुरुमा १८ जनाको मृत्यु भएको हुनसक्ने आशङ्का गरेका थिए, तर विस्फोटका बेला कारखानामै रहेको मानिएका दुई व्यक्ति वास्तवमा त्यहाँ नरहेको र उनीहरू फेला परिसकेको डेभिसले बताए। नेसभिलबाट करिब ९० किलोमिटर दक्षिण-पश्चिममा रहेको बक्सनोर्ट, टेनेसीको यस कारखानामा भएको विस्फोटको कारण अझै अस्पष्ट छ।
शुक्रबार लिइएको भिडियो फुटेजमा आगो बलिरहेको, जलेका गाडीहरू र विस्फोटक पदार्थहरूको विकास तथा निर्माणमा विशेषज्ञता राख्ने यस कारखानाको ध्वस्त भवनबाट धुवाँ निस्किरहेको देख्न सकिन्छ। अधिकारीहरूले भवन रहेको स्थानबाट आधा माइल वरिपरि भग्नावशेष छरिएको बताएका छन्।
उनले थपे, ‘हामीले जति गहिराइमा पुग्दैछौँ, त्यति नै यो सुरुमा सोचेभन्दा पनि धेरै विनाशकारी पाएका छौँ।’ भावुक देखिएका डेभिसले शनिबार बिहानसम्ममा उद्धार कार्य शव सङ्कलन अभियानमा परिणत भइसकेको बताएका छन्। पीडितहरूको पहिचान गर्न र परिवारहरूलाई सूचित गर्नका लागि एफबीआईले पनि घटनास्थलमा द्रुत डीएनए परीक्षण सञ्चालन गरिरहेको छ।
घटनाको अनुसन्धानमा सहयोग गर्न ब्युरो अफ अल्कोहोल, टोबाको, एन्ड फायरआर्म्स (एटीएफ) पनि घटनास्थलमा छ। सन् २०१४ मा पनि सोही स्थानको एक युनिटमा एक घातक विस्फोट भएको थियो।






