पटक–पटक संसद् विघटन गर्नेले पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद: दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले पटक–पटक संसद् विघटन गर्नेहरुले संसद् पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले सरकारले तोकेको समयमा निर्वाचन नभए अर्को अराजकता निम्तिने खतरा रहेको बताए।

उनले वर्तामान यथार्थलाई स्वीकार गरेर निर्वाचन सफल बनाउन लाग्न एमालेलाई आग्रह गरे। घोषित समयमा निर्वाचन सफल गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प रहेको उनको भनाइ छ। यसलाई भड्काउने कोशिस नर्गन उनले चेतावनीसमेत दिए।

उनले भने, ‘हिजो पटक–पटक संसद् विघटन गर्नेहरुले अहिले संसद् पुनःस्थापनाको कुरा गर्नु जस्तो हास्यास्पद कुरा अरु केही हुन सक्दैन। म ती साथीहरुलाई यस्तो वितण्डाको पछि नलाग्न र आजको यथार्थलाई स्वीकार गरेर यो निर्वाचन सफल पार्न आग्रह गर्न चाहन्छु।’

Related posts