सिँचाइ र पहिरो नियन्त्रणका लागि तनहुँमा १५ करोड रुपैयाँभन्दा बढीका योजना
रासस·२०८२ कार्तिक ६ | बिहान ०९:०७ बजे·0 comments
तनहुँ । तनहुँको दमौलीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालू आर्थिक वर्षमा सिँचाइ र पहिरो नियन्त्रणसम्बन्धी रु १५ करोड ७५ लाख बराबरका विभिन्न योजनाहरू सञ्चालन गरेको छ।
आयोजना प्रमुख सुपिन्द्र खत्रीका अनुसार, पाँचवटा ठूला आयोजनाका लागि रु तीन/तीन करोड बजेट विनियोजन गरिएको छ। यसमा देवघाट गाउँपालिका-५ को दासढुङ्गा त्रिशूली नदी बृहत् लिफ्ट सिँचाइ आयोजना, शिशाघाट उपत्यका लिफ्ट सिँचाइ, भानु चुँदी वराह सिँचाइ आयोजना, शुक्लागण्डकी नगरपालिकाको टार बजार संरक्षण कार्यक्रम र देवघाट-५ स्थित गलेश्वर आश्रम तातोपानी पहिरो नियन्त्रण समावेश छन्। यस्तै, मर्स्याङ्दी तथा दरौदी नदी नियन्त्रणका लागि रु ७५ लाख बजेट विनियोजन गरिएको छ।
यो कार्यालयले तनहुँसहित लमजुङ, मनाङ र गोरखामा पनि काम गर्दै आएको छ। सिँचाइ आयोजना, तटबन्धन, स्पर, रिभेटमेन्ट निर्माण, जग्गा उकास र नदी नियन्त्रणजस्ता कार्यहरूका लागि कार्यालयले अध्ययन तथा सर्भेक्षण गरिरहेको प्रमुख खत्रीले जानकारी दिए।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।