काठमाडौँ, मङ्सिर ५ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण सुरु गरेको छ । आज राष्ट्रिय ट्रमा सेन्टरमा प्रदर्शनका घाइतेको चोटपटकको गम्भीरताअनुसार वर्गीकरण सुरु गरिएको हो ।
वर्गीकरणका लागि घाइते परिचयपत्र बोकेर करिब १०० जना घाइते ‘जेनजी’ हरू ट्रमा सेन्टरमा पुगेका थिए ।
सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२ जारी गरिसकेको छ । घाइतेलाई अतिगम्भीर, गम्भीर, मध्यम र सामान्य घाइतेगरी चार प्रकारमा वर्गीकरण गर्ने भनिएको छ । घाइतेमध्ये चोटपटकका आधारमा अतिगम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटकका आधारमा छुट्याउने गरिएको छ । वर्गीकरणका आधारमा परिचयपत्र उपलब्ध गराई सोहीअनुसारको सुविधा उपलब्ध गराउने सरकारको नीति छ ।






