रसुवा, मङ्सिर ८। नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलीब्रिज तयारीको कामले तीव्रता पाएको छ ।दैनिक ३०–३५ जना चिनियाँ कामदारसहितको प्राविधिक समूह आधुनिक उपकरणको समेत प्रयोग गरी उच्च प्राथमिकताका साथ निर्माण प्रक्रियमा जुटेसँगै मितेरी पुलका रुपमा परिचित सो बेलीब्रिज अब छिट्टै बन्ने अवस्थामा पुगेको हो ।
चिनियाँ पक्षका अनुसार यसअघि नै तयार गरिसक्ने योजनाका साथ काम सुरु भए पनि लगातारको वर्षासहित नदी तथा खोलामा आएको बाढीका कारण कामले गति लिन नसक्दा निर्माण कार्य ढिलो हुन पुगेको हो । खोलामा पानीको बहाव नघट्दा, बिच्छ्याइएका हिमपाइप पटकपटक बगाउँदा र बेलीब्रिज निर्माणका क्रममा जडान गरिएको फलामका पत्ता एक्कासि लच्केपछि त्यसलाई निकालेर अर्को जडान गर्नुपर्दा अपेक्षा गरिएअनुसारको समयसीमाभित्र काम पूरा हुन नसकेको सम्बद्ध प्राविधिको भनाइ छ ।
स्थानीय बासिन्दाका अनुसार आवश्यक जनशक्तिको व्यवस्थासहित तीनवटा ‘जोमक्रेन’ समेत परिचालन गरिएकाले आगामी ‘डिसेम्बर’ सम्म निर्माणाधीन बेलीब्रिज तयार भई दुई देशबीचको आवतजावत सहज हुनेछ ।उच्च रफ्तारका साथ काम गरिरहेको चिनियाँ प्राविधिक टोलीले विकट भूगोल र पूर्वानुमान गरिएभन्दा असहज किसिमको मौसमका कारण काममा विलम्ब भएको स्पष्ट गर्दै समयसीमा किटान नगरीकन यथासक्य छिटो बेलीब्रिज निर्माणमा आफूहरू खटिरहेको स्पष्ट गरेको छ ।
स्थानीय गोसाइँकुण्ड गाउँपालिका–२ का अध्यक्ष कामीछिरिङ तामाङ उपकरणको व्यवस्थासहित बेलीबिज्र निर्माणमा भइरहेको प्रगति र चिनियाँ पक्षको प्राथमिकतालाई हेर्दा अबको एक महिनामा मितेरीपुल निर्माण सम्पन्न हुने बताउनुहुन्छ ।






