नवलपुरमा छैठौ देवचुली महोत्सव हुने

नवलपुर । नवलपुरको देवचुलीमा पुस १५ गतेदेखि छैठौ देवचुली महोत्सव हुने भएको छ । देवचुली उद्योग वाणिज्य संघको आयोजनामा माघ ९ गतेसम्म महोत्सव हुन लागेको हो । आयोजकले पत्रकार सम्मेलन गरी देवचुली नगरपालिका –१५ को देवचुली मल्टिपलेक्सको प्राङगणमा महोत्सव हुने जानकारी दिएको छ । 

महोत्सवमा करिव एक लाख पचास हजार दर्शकले अवलोकन गर्ने र १५ करोड आर्थिक कारोबार हुने अनुमान गरिएको संघका अध्यक्ष सत्यनारायण भुसालले जानकारी दिनुभयो । जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि शिक्षा, कृषि, पर्यटन, उद्योग, व्यापार र सवास्थ्य क्षेत्रमा टेवा दिने लक्ष्यसाथ महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।

महोत्सवबाट बचत भएको रकमबाट ५० प्रतिशत संघको फिक्स डिपोजिटमा राख्ने, बाँकी ५० प्रतिशतलाई सय प्रतिशत मानेर शिक्षामा १५ प्रतिशत, स्वास्थ्य सहयोग बिमामा २० प्रतिशत, व्यवशायिक हितका लागि २० प्रतिशत, पूँजि निर्माणमा २० प्रतिशत र विविधमा १० प्रतिशत छुट्याइने अध्यक्ष भुसालको भनाइ छ । 

मगर, बोटे, माझी, थारु, दराई, गुरुङ, तामाङ, नेवार, बाहुन, क्षेत्री लगायत विभिन्न जातजातिको भेषभुषा झल्कने सामग्रीको प्रदर्शनीमा राखिने, सोही जातजातिका घरहरु निर्माण गरिने, हस्तकलाका मूर्ति प्रदर्शन गरिने तथा विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा पत्रकारहरुका लागि पानी पिउने प्रतियोगिता पनि आयोजना गरिएको भुसालले बताउनुभयो । महोत्सवमा एकसय ५० भन्दा बढी व्यावशायिक स्टल राखिने बताइएको छ । 

Related posts