चितवन, मङ्सिर १२ । मानव सेवामा क्रियाशील आदर्श गृह नेपालले आफ्नै भवन बनाउन सुरु गरेको छ । हालसम्म एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको उक्त संस्थाले भरतपुर महानगरपालिका-१५ विश्व प्रकाश टोलमा रहेको आफ्नै जग्गामा भवनको बनाउन लागेको हो ।
संस्थाका अध्यक्ष मीना खरेलले संस्थाले विसं २०६६ देखि हिंसा प्रवाहित महिला तथा बालबालिकाहरुको, उत्थान, विकास, अधिकार र संरक्षणमा काम गर्दै आएको बताउनुभयो । हाल हिंसा प्रभावित महिला तथा बालबालिकाका क्षेत्रमा विभिन्न अभियान, अल्पकालीन एवं दीर्घकालीन सेवा, पारिवारिक पुनर्मिलन परामर्श, तालिम, हस्तकलालगायत आयमूलक एवं सेवामूलक कार्य गर्दै आएको उहाँले बताउनुभयो ।
हालसम्म संस्थाले एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको, २३४ जना प्रभावितको जिल्ला र पुनरावेदनमा मुद्दा लडेको खरेलले जानकारी दिनुभयो । हाल संस्थामा तीन बालकसहित २९ जनाले आश्रय लिइरहेका छन् ।भूमिदाता तथा सहयोगीबाट सङ्कलित रकमले संस्थाका लागि चार कट्ठा जमिन खरिद गरिएका छ । जसमध्ये एक कट्ठा संस्थापक अध्यक्ष खरेलले र बाँकी विभिन्न दाताहरूबाट सङ्कलित रकमबाट जग्गा खरिद गरिएको संस्थाका सचिव अर्जुन अधिकारीले बताउनुभयो ।
संस्थाले धान्याञ्चल महायज्ञ गरेर आर्थिक सङ्कलन गरी एक वर्ष छ महिनाभित्रमा भवन सम्पन्न गर्ने लक्ष्य राखेको अधिकारीले बताउनुभयो । हिंसा प्रभावित महिला र बालबालिकाको आश्रयस्थल बनाउन लागिएकाले दाताहरूको सकारात्मक सहयोग हुने अपेक्षा गरिएको उहाँले सुनाउनुभयो ।कार्यक्रममा भरतपुर महानगरपालिका–१५ का अध्यक्ष श्रीकृष्ण देवकोटा, समाजसेवी उमाशङ्कर अग्रवाल, आदर्श नारी विकास केन्द्रका संस्थापक अध्यक्ष सीता सापकोटालगायतले आफ्नो धारणा राख्नुभएको थियो ।






