चितवन, मङ्सिर १२ । भरतपुर महानगरपालिकाले सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गर्न थालेको छ । दुई ठाउँमा आधुनिक स्मार्ट शौचालय निर्माण अन्तिम चरणमा पुगेको छ । अन्य दुई स्थानमा यसअघि सञ्चालनमा आइसकेका छन् ।
यसअघि महानगरपालिकाले भरतपुर अस्पताल अगाडि, गोन्द्राङ् र आँपटारीमा आधुनिक सार्वजनिक शौचालय बनाइएको थियो । ती शौचालय रु ७० लाख खर्च गरेर बनाइएको हो । महानगर प्रमुख रेनु दाहालले स्थान अभावका कारण सहरी क्षेत्रमा आवश्यक सङ्ख्यामा स्मार्ट शौचालय बनाउन नसकिएको बताउनुभयो । समयसापेक्ष स्मार्ट शौचालयहरु बनाउँदै लैजाने लक्ष्य महानगरको रहेको उहाँको भनाइ छ ।भरतपुर महानगरपालिकाले मुख्य बजार क्षेत्र लायान्स चोक, सहिद चोक र पुलचोकमा स्मार्ट शौचालयका लागि जग्गा खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।






