काठमाडौँ, पुस १५। च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रतिस्थापन र निर्यात प्रवद्र्धन समेतमा टेवा पु¥याउने उद्देश्यले आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । नेपाल सरकारबाट यही पुस ११ गते भएको निर्णयबमोजिम आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको हो ।
त्यसैगरी, पछिल्लो समय सुकाएको च्याउसमेत निर्यात हुन थालेको छ । अन्य खेतीभन्दा छिटो उत्पादन लिन सकिने, न्यून जमिन तथा कृषि सामग्रीको प्रयोगबाट समेत उत्पादन लिन सकिने र नेपालको भौगोलिक एवं जलवायु विविधताका कारण वर्षभरि उत्पादन गर्न सकिने च्याउ खेतीको व्यावसायिक उत्पादन एवं मूल्य शृङ्खला विकास स्वदेशमा रोजगारी सृजना, कृषि अर्थतन्त्रमा योगदान एवं आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको छ ।
हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसान रहेका छन् । मुलुकभर विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब रु २० अर्बको हाराहारी रहेको च्याउ उत्पादन किसान सङ्घ नेपालका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा सर्वप्रथम गोब्रे च्याउको उत्पादन र अनुसन्धानपश्चात् २०३०/३१ सालमा गोब्रे च्याउको खेती प्रविधिसम्बन्धी अनुसन्धान भएको हो ।
राष्ट्रिय कुषि अनुसन्धान परिषद्अन्तर्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउखेती प्रविधिसम्बन्धी अध्ययन सफल भएपछि २०३७ सालदेखि देशका विभिन्न स्थानका किसानलाई च्याउखेती प्रविधिसम्बन्धी तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो । विसं २०३४/३५ सालदेखि नै काठमाडौँको बलम्बु, चापागाउँ, दधिकोट हुँदै नेपालका विभिन्न स्थानमा निरन्तर च्याउखेती गरिँदै आइएको छ ।
च्याउ उत्पादन प्रवद्र्धन एवं व्यवसायीकरण कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छ । हाल च्याउ प्रविधि विस्तार, बजारीकरण प्रवद्र्धन एवं नीतिगत सहजीकरणमार्फत मूल्य शृङ्खला विकासका लागि कृषि विभागअन्तर्गत व्यवसायिक कीट विकास केन्द्रबाट कार्यक्रम सञ्चालन हुँदै आएका र अनुसन्धान एवं गुणस्तरीय बीउ आपूर्तिका लागि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्रबाट कार्यक्रम सम्पादन हुँदै आएको छ ।
दिवसका अवसरमा कृषिमन्त्री डा मदनप्रसाद परियारले च्याउ उत्पादक, उद्यमी, उपभोक्ता एवं सरोकारवालामा शुभकामना व्यक्त गर्दै दिवसले च्याउ मूल्य शृङ्खलामा आबद्ध उद्योगी, किसान, अनुसन्धानकर्ता र व्यवसायीबीच सहकार्य तथा साझेदारी बढाई दीर्घकालीन व्यावसायिक सम्बन्धलाई बलियो बनाइने बताउनुभयो । उहाँले च्याउको पोषण र आर्थिक महत्वबारे सचेतना अभिवृद्धि गर्ने, किसानलाई नयाँ प्रविधि र बजारका अवसरमा जोड्ने तथा आगामी दिनमा नीतिगत मार्गदर्शन गर्ने अपेक्षा गरेको उल्लेख गर्नुभयो ।
मन्त्री डा परियारले दिवसलाई महोत्सवका रुपमा मनाउँदै गर्दा आगामी दिनमा यस क्षेत्रको थप प्रवद्र्धनका लागि अध्ययन, अनुसन्धान, पूर्वाधार विकास एवं बजारीकरण प्रवद्र्धनमा संलग्न सरोकारवालालाई समन्वय र सहयोगका लागिसमेत आह्वान गर्नुभएको छ ।






