धनकौल गाउँपालिकामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा सुरु

सर्लाही । सर्लाही जिल्लाको धनकौल गाउँपालिकामा शुक्रबारदेखि आँखाको रोग मोतियाबिन्दु पीडितका लागि निःशुल्क शल्यक्रिया (अपरेशन) सेवा औपचारिक रूपमा सुरु गरिएको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामआश्रय साहले  पानसमा बत्ती बालेर गर्नुभयो।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि रामआश्रय साहले आँखाजस्तो संवेदनशील अंगको उपचार समयमै नपाउँदा नागरिकको दैनिकी र जीवनस्तरमा गम्भीर असर पर्ने उल्लेख गर्नुभयो। उहाँले निःशुल्क मोतियाबिन्दु शल्यक्रिया कार्यक्रमले दृष्टि गुमाउने जोखिममा रहेका नागरिकलाई नयाँ आशा प्रदान गर्ने बताउनुभयो। साथै, स्वास्थ्य सेवा सबै नागरिकको मौलिक अधिकार भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

धनकौल गाउँपालिकाको समन्वय तथा सम्बन्धित स्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रममा गाउँपालिका भित्र तथा आसपासका क्षेत्रका मोतियाबिन्दुका बिरामीहरूले निःशुल्क उपचार सेवा प्राप्त गर्नेछन्। कार्यक्रमबाट सयौँ नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरूले गाउँमै निःशुल्क र गुणस्तरीय आँखाको उपचार सेवा उपलब्ध गराएकोमा खुशी व्यक्त गर्दै धनकौल गाउँपालिकालाई धन्यवाद दिएका छन्। उनीहरूले यस्ता जनस्वास्थ्य केन्द्रित कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्न माग गरेका छन्।

Related posts