काठमाडौँ । हप्तामा १० घण्टाभन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको खानपान, निद्रा र शरीरको तौलमा गम्भीर असर पर्ने एक अध्ययनले देखाएको छ। अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा गरिएको अनुसन्धानले अत्यधिक गेमिङ गर्ने युवाहरूमा मोटोपन र अनिद्रा जस्ता समस्या देखिने पुष्टि गरेको हो। ‘न्यूट्रिशन’ जर्नलमा प्रकाशित यस अध्ययनमा पाँच विश्वविद्यालयका ३१७ विद्यार्थीहरूलाई सहभागी गराइएको थियो।
कर्टिन स्कूल अफ पपुलेसन हेल्थका प्रोफेसर मारियो सिर्भोका अनुसार धेरै समय गेममा झुम्मिने विद्यार्थीहरूमा खराब आहार र उच्च मोटोपनाको समस्या पाइएको छ। यसैगरी, सबै समूहका खेलाडीमा निद्राको गुणस्तरमा केही समस्या देखिए पनि हप्तामा १० घण्टाभन्दा बढी खेल्नेहरूमा निद्रामा गम्भीर अवरोध हुने गरेको पाइएको छ। अध्ययनले स्वास्थ्य जोखिम कम गर्न राती अबेरसम्म गेम नखेल्न, स्वस्थ खानेकुरा खान र नियमित दिनचर्या अपनाउन सुझाव दिएको छ।






