दोधारा चाँदनी (कञ्चनपुर), माघ १०। प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले ‘विपिन चोक’ नामाकरण गरेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका ४९ जना विद्यार्थी दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेका थिए । उनीहरु इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका थिए । हमासको आक्रमणमा परेर १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । बन्धक बनाएकै अवस्थामा विपिनको मृत्यु भएको हो ।
गत कात्तिकमा इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरणअनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले विपिनको शव हस्तान्तरण गरेको थियो ।






