दमौली (तनहुँ), माघ २९। आँबुखैरेनी गाउँपालिकाले पहिलो पटक रेन्बो ट्राउट माछापालनको प्रारम्भिक परीक्षण गरेको छ । कृषिमा नयाँ सम्भावनाको खोजी गर्दै मत्स्यपालन क्षेत्रमा महत्वपूर्ण पहलका लागि पहिलो पटक रेन्बो ट्राउटको परीक्षण गरिएको हो ।आँबुखैरेनी–२ स्थित खोलागाउँमा रहेको साहारा कृषि तथा पशुपक्षी फार्मसँगको साझेदारीमा रेन्बो ट्राउट माछापालनको सम्भावनाबारे प्रारम्भिक परीक्षण थालिएको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा सन्तोष देवकोटाले जानकारी दिनुभयो ।
भौगोलिक बनावट, चिसो र स्वच्छ पानीको उपलब्धता ट्राउट माछापालनका लागि उपयुक्त मानिन्छ । “हामीले सम्भाव्यता अध्ययनका लागि प्रारम्भिक परीक्षण सुरु गरेका हौँ, यसको नतिजा कस्तो आउँछ, त्यसपछि व्यावसायिक रुपमा माछापालनका लागि प्रोत्साहन गर्छौ”, उहाँले भन्नुभयो ।
रेन्बो ट्राउट उच्च मूल्यमा बिक्री हुने माछा भएकाले किसानका लागि आकर्षक आम्दानीको स्रोत बन्नसक्ने विश्वास गरिएको छ । साथै, खोलागाउँ क्षेत्रलाई मत्स्यपालनसँगै आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको देवकोटाको भनाइ छ ।
परीक्षण चरणको नतिजा उत्साहजनक आएमा आगामी दिनमा प्राविधिक सहयोग, तालिम र आवश्यक पूर्वाधार विस्तारमार्फत अन्य किसानलाई समेत यस व्यवसायमा आबद्ध गराइने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । स्थानीय तहको यस प्रयासले कृषिमा विविधिकरण र आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको उहाँले उल्लेख गर्नुभयो ।






