रश्मिका र विजयको बहुप्रतीक्षित फिल्म ‘राणाबाली’ को फस्ट लुक र गीत सार्वजनिक

हैदराबाद । दक्षिण भारतीय फिल्मका चर्चित जोडी रश्मिका मन्दाना र विजय देवरकोण्डाको वास्तविक जीवनको विवाहको उत्सव चलिरहँदा फ्यानहरूका लागि अर्को ठूलो सरप्राइज मिलेको छ। 

उनीहरूको अभिनय रहेको आगामी फिल्म ‘राणाबाली’ को फस्ट लुक र पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले सामाजिक सञ्जालमार्फत एक विशेष भिडियो सार्वजनिक गर्दै नवविवाहित जोडीलाई विवाहको शुभकामना समेत दिएको छ।

इन्स्टाग्राममा सार्वजनिक गरिएको विशेष भिडियोमा फिल्मका मुख्य पात्र राणाबाली (विजय) र जयम्मा (रश्मिका) को विवाहका सुन्दर पलहरू देखाइएको छ। भिडियोको अन्त्यमा ‘ह्याप्पी म्यारिड लाइफ विजय एण्ड रश्मिका’ लेखेर कलाकारहरूलाई बधाई दिइएको छ। 

 

फिल्ममा यी दुईको अन-स्क्रिन केमेस्ट्री निकै उत्कृष्ट देखिएको छ, जसले दर्शकमा फिल्मप्रति थप उत्साह जगाएको छ। यसका साथै फिल्मको ‘ओ मेरे साजन’ बोलको पहिलो गीत पनि रिलिज गरिएको छ, जसले १९औँ शताब्दीको परिवेश र रोमान्टिक जादुलाई पर्दामा उतारेको छ।

 

राहुल सांकृत्यायनले निर्देशन गरेको ‘राणाबाली’ एउटा प्यान इन्डिया ऐतिहासिक ड्रामा हो। फिल्ममा विजय देवरकोण्डा एक सिपाहीको भूमिकामा छन् भने रश्मिकाले ‘जयम्मा’ को चरित्र निभाएकी छन्। 

 

यस फिल्ममा हलिउड अभिनेता अर्नोल्ड वास्लु भिलेनको रूपमा देखिने भएपछि चलचित्र क्षेत्रमा यसको चर्चा थप चुलिएको छ। यो फिल्म आगामी सेप्टेम्बर ११, २०२६ मा सिनेमाघरहरूमा प्रदर्शन हुने तय भएको छ।

 

विजय र रश्मिकाले गत फेब्रुअरी २६, २०२६ मा उदयपुरमा आयोजित एक निजी समारोहका बिच विवाह गरेका हुन्। 

Related posts