काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका लागि तत्काल सहायता उपलब्ध गराउन तथा मानवीय राहत सामग्री सुरक्षित रूपमा पार गर्न अनुमति दिन अपिल गरेका छन् ।
उनका अनुसार उक्त सहायता कार्यक्रमबाट झण्डै १० लाख मानिस लाभान्वित हुने अपेक्षा गरिएको छ । यसमा प्रभावित कमजोर लेबनानी नागरिक, विस्थापित सिरियाली, लेबनानका प्यालेस्टिनी शरणार्थी, सिरियाबाट आएका प्यालेस्टिनी शरणार्थी तथा आप्रवासीहरू समावेश छन् ।
महासचिव गुटेरेसले क्षेत्रीय द्वन्द्वका कारण सर्वसाधारणले भोगिरहेको पीडा अन्त्य गर्न दुवै पक्षलाई तुरुन्त युद्धविराम गर्न पनि आग्रह गरेका छन् । लेबनान भ्रमणका क्रममा उनले राष्ट्रपति जोसेफ औन, संसद् सभामुख नबिह बेरी र प्रधानमन्त्री नवाफ सलामसँग भेटवार्ता गरेका थिए ।
यसैबिच संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले मानवीय राहत सामग्री बोक्ने जहाजहरूलाई अवरोधबिना सुरक्षित मार्ग उपलब्ध गराउन तत्काल अपिल गरे ।
उनले चेतावनी दिँदै भने, “यदि मार्गमा अवरोध आयो भने खाद्यान्न, औषधि र जीवनरक्षक सामग्रीको मूल्य बढ्नेछ, जसको असर सबैभन्दा बढी कमजोर समुदायमा पर्नेछ ।”
संयुक्त राष्ट्रसङ्घका निकायहरूले उक्त समुद्री मार्गलाई विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मार्ग भएको बताएका छन् । हाल जहाज आवागमन लगभग ठप्प भएको र इन्धनको लागत बढ्दै गएकाले विश्वव्यापी आपूर्ति शृङ्खलामा ढुवानी खर्च बढ्ने जोखिम रहेको बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा गाजा क्षेत्रमा रहेको सीमाना नाकाबाट पठाउन खोजिएका अधिकांश मानवीय सामग्रीहरूलाई अनुमति दिइएको छैन ।
फलस्वरूप संयुक्त राष्ट्रसङ्घले इन्धन मात्र सङ्कलन गर्न सकेको छ, अन्य राहत सामग्री भने प्रवेश गर्न पाएका छैनन् । यस क्रममा विश्व स्वास्थ्य संयुक्त राष्ट्रसङ्घले मानवीय आपूर्ति मार्ग अवरुद्ध भए लाखौँ मानिस जीवनरक्षक सहायता नपाउने जोखिममा पर्ने चेतावनी दिएका छन् ।






