काठमाडौं, वैशाख ११। नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले वर्तमान सरकार साम्राज्यवादीको एजेण्टको रुपमा काम गर्ने सरकार रहेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान परिस्थिति र आगामी बाटो’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पहिलेका पार्टीहरु साम्राज्यवादीको गोटी भएपनि राजनीतिक तरिकाले आएको भएर तिनिहरुको एउटा चरित्र भएको र अहिलेको सरकारको दोहोरो चरित्र भएको बताए ।
उनले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘साम्राज्यवादी शक्तिहरूको कठपुतली सरकार’को संज्ञा दिए । कठपुतली सरकारको निर्वाचनबाट जुनै पार्टीले चुनाव जितेर आएपनि त्यो साम्राज्यवादीको एजेण्ट नै बन्ने उनको भनाइ छ ।
उनले भने,‘सुशीला कार्की नेतृत्वमा साम्राज्यवादीहरुको कठपुतली सरकार बनेको थियो । त्यो कठपुतली सरकारले गर्ने निर्वाचन भनेको कठपुतली संसद खडा गर्ने थियो । त्यो कठपुतली सरकारको निर्वाचनबाट बनेको सरकार भनेको अमेरिकी साम्राज्यवादको दलाल नै हुन्थ्यो । कांग्रेस, एमाले, राप्रपा ,नेकपा या अरु चुनावमा गएका सबै पार्टीले शतप्रतिशत नै ल्याएको भएपनि त्यो साम्राज्यवादीको एजेण्ट नै बन्नेथिए ।’ न्यूज बैंक






