हर्मुज क्षेत्रमा तनावपछि ट्रम्पको प्रतिक्रियाः स्थिति नजिकबाट निगरानीमा

वासिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीनवटा अमेरिकी नौसेनाका ‘डेस्ट्रोयर’ हरू सुरक्षित रहेको र कुनै क्षति नभएको जानकारी दिएका छन् । ती युद्धपोतहरू हालै हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा रहेका थिए ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ती युद्धपोतहरू ‘विश्वस्तरीय’ भएको उल्लेख गरे । उनका अनुसार जहाजहरूले सुरक्षित रूपमा आफ्नो यात्रा पूरा गरेको छ ।

अमेरिकी सैन्य स्रोतहरूका अनुसार, सो क्षेत्रमा इरानी पक्षबाट मिसाइल, ड्रोन तथा साना जहाजमार्फत अमेरिकी नौसैनिक जहाजहरूलाई लक्षित गरिएको थियो । तर अमेरिकी सेनाले ती आक्रमणहरूलाई सफलतापूर्वक रोक्दै आवश्यक प्रतिकारात्मक कारबाही गरेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी जहाजहरूमा कुनै क्षति नभएको स्पष्ट पार्दै इरानी आक्रमणकारीहरूलाई भने उल्लेखनीय क्षति पुगेको दाबी गरे । साथै, उनले भविष्यमा यस्ता गतिविधि दोहोरिए अझ कडा र प्रभावकारी प्रतिक्रिया दिइने चेतावनी पनि दिए ।उनले इरानलाई छिटो कूटनीतिक सम्झौता गर्न आग्रह गर्दै, भविष्यमा थप कडा कदम चालिन सक्ने सङ्केत पनि दिए।

हर्मुज जलडमरूमध्य विश्वको अत्यन्त महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिन्छ । पछिल्लो समय यस क्षेत्रमा देखिएको तनावले अन्तर्राष्ट्रिय सुरक्षा तथा ऊर्जा आपूर्तिमा चिन्ता बढाएको छ ।अमेरिकी अधिकारीहरूले आफ्नो सेनालाई सुरक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको जनाउँदै, परिस्थितिलाई थप जटिल बनाउन नचाहेको पनि स्पष्ट पारेका छन् ।यसैबीच, यस क्षेत्रको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायले समेत नजिकबाट निगरानी गरिरहेको बताइएको छ ।

Related posts