चितवन, वैशाख २९। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा यस आर्थिक वर्षमा चारवटा छावा जन्मिएका छन् । गत आवमा दुईवटा छावा जन्मिएका थिए । थप एउटा हात्तीले यस वर्ष बच्चा जन्माउने अवस्थामा पुगेको छ ।
निकुञ्जभित्रका विभिन्न पोष्टमा गरी हात्तीको सङ्ख्या ५८ वटा रहेका थिए । गत वर्ष दुईवटा हात्ती कतार पठाइएको छ । विसं २०४४ मा स्थापना भएको यस केन्द्रमा हालसम्म ६८ वटा बच्चा जन्मिसकेका छन् । यहाँका पोथी हात्तीलाई जङ्गली हात्तीले केन्द्रमा आएर गर्भधान गराउने गर्दछन् ।
ध्रुवे, रोनाल्डो, गोविन्दे र गत साल मरेको मकुनाले यहाँ पोथी हात्तीलाई प्रजनन गराउँदै आएका छन् । यसै महिनाबाट भीमगज र शेरगज नाम दिइएका दुईवटा जङ्गली हात्ती पनि केन्द्रमा आउन थालेका छन् । केही दिनअघि शेरगज र रोनाल्डोबीचमा केन्द्रमा लडाइँ भएपछि अन्य हात्ती र माउते त्रसित भएका थिए । यहाँ जन्मिएका हात्तीका छावालाई तालिम दिएर निकुञ्जका पोष्टहरूमा काम गर्न पठाउने गरिन्छ ।






