कविता : रातो घाम

यतिबेला
विस्फारित यी दुई नयनहरु
अझै च्यातेर
नजर लगाउँछु टाढा-टाढा
यापती छुकु र सुनारी आजीको
मिथ बोकेको
हाम्रो दर्बिलो र गर्विलो सभ्यताको
सुन्दर, शान्त, स्निग्ध नील गगनमा
आधा रोटी जस्तो चन्द्रमा उदाएर
उज्यालो पोखिनै लाग्दा
धर्ती उजेलिनै लाग्दा
जन जनहरु जाग्नै लाग्दा
अनायास
काला-काला बादलका पहाडहरु
जम्मा भएर
एक आपसमा ठोक्किएर
गड्गडाएर
शालीन सभ्यता पोखिएको यो धर्तीमा
चट्याङ झर्न लाग्यो
मुसलधारे पानी पर्न लाग्यो
बाढी, पहिरो चल्न लाग्यो
तर,
यसै प्रकिकूल मौसमको बीचमा
एउटा यस्तो शक्तिशाली तुफानी
हूरी चल्नेछ
र, बढार्नेछ कुँडाकर्कटहरुलाई
साउनको भेल झैं उर्लिरहेको
विचारका बाढीहरुले
बगाउनेछ फोहोरका डङ्गुरहरुलाई
र, भोलि बिहानै
हाम्रो सभ्यताको सफाकाशमा
धर्ती जगमगाउने गरी
उदाउनेछ जाज्वल्यमान रातो घाम
✍️डम्बर थामी ‘अनुपम’
०८ भाद्र, २०७८

Related posts