रुस । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्याइरहेको स्वीकार गरेका छन् ।‘युक्रेनले रुसका तेल प्रशोधन केन्द्र, भण्डारण स्थल र पाइपलाइनहरूका साथै क्रिमियामा इन्धन आपूर्तिलाई पनि बढ्दो रूपमा निशाना बनाइरहेको छ’ पुटिनले भनेका छन् ।
शुक्रबार पुटिनले दिएको यो अभिव्यक्ति युक्रेनले पछिल्ला केही सातादेखि रुसी पूर्वाधारमाथि आक्रमण तीव्र बनाएको सन्दर्भमा आएको हो । युक्रेनले अघिल्लो रात रुसको निज्नेकाम्स्कस्थित एक महत्वपूर्ण तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दाबी गरेको थियो । तर पुटिनले यी आक्रमणहरूले रुसभित्र विभाजन ल्याउन नसक्ने र अर्थतन्त्र चाँडै पुनःस्थापित हुने दाबी गरे ।
पुटिनले भने, ‘अर्थतन्त्रको कुरा गर्दा उनीहरूले पक्कै पनि हामीलाई क्षति पु¥याइरहेका छन्, तर हामी छिट्टै फेरि जागिरहेका छौँ ।’ रुसी सरकारी समाचार संस्था तासका अनुसार उनले यी आक्रमणहरूको उद्देश्य समाजमा ‘अव्यवस्था र भ्रम फैलाउनु’ रहेको बताए ।
तर उनले जोड दिए कि यस्ता आक्रमणहरूले ‘समाजलाई विभाजित गर्न वा रुसलाई आर्थिक रूपमा कमजोर बनाउन सफल हुने छैनन्, कम्तीमा उनीहरूले चाहेजस्तो हुने छैन ।’
युक्रेनले भने आफ्ना आक्रमणहरूलाई रुसले दैनिक रूपमा युक्रेनी सहर र बस्तीहरूमा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेर निम्त्याइरहेको विनाशको उचित प्रतिशोधका रूपमा व्याख्या गरेको छ ।
रुसभित्र ‘विशेष सैन्य अभियान’ सफलतापूर्वक अघि बढिरहेको भन्दै रुसी सेनाले ‘शत्रुको पूर्वाधार’ माथिको आक्रमण अझ बढाउने र ‘नागरिक संरचनामाथिका आक्रमणहरू निरुत्साहित गर्ने’ पनि पुटिनले बताए । उनले आफ्नो हवाई प्रतिरक्षा प्रणाली थप सुदृढ गर्नुपर्ने पनि बताए ।
लामो दूरीका आक्रमणबाहेक युक्रेनले रुसद्वारा अधिनस्त क्रिमियातर्फ जाने आपूर्ति मार्गहरू, विशेषगरी इन्धन ढुवानी गर्ने ट्रकहरूलाई पनि निशाना बनाएको छ । यसका कारण सन् २०१४ मा रुसले कब्जा गरेयता क्रिमियामा सबैभन्दा गम्भीर इन्धन सङ्कट उत्पन्न भएको छ ।
वासिङ्टनस्थित इस्टिट्युट फर द स्टडी अफ वारले युक्रेनका लामो दूरी तथा मध्यम दूरीका आक्रमणहरू एकअर्काको तालमेल मिलिरहेको जनाएको छ । संस्थाले आफ्नो विश्लेषणमा भनेको छ, ‘लामो दूरीका आक्रमणहरूले रुसको उत्पादन क्षमता घटाइरहेका छन् भने मध्यम दूरीका आक्रमणहरूले रुसले उत्पादन गरेको पेट्रोल ढुवानी गर्न अवरोध पुर्याइरहेका छन् ।’
क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले यसै साता क्रिमियामा इन्धन अभाव रहेको स्वीकार गर्दै त्यसको समाधानका लागि ‘आवश्यक कदम चालिएको’ बताएका थिए ।
पुटिनले हालै युद्ध अन्त्यका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीसँग प्रत्यक्ष वार्ताको सम्भावना अस्वीकार गरेका थिए।
युक्रेनी सेनाका प्रमुख अलेकज्यान्डर सिस्र्कीले भने मे महिनामा युक्रेनले गुमाएकोभन्दा बढी भूभाग पुनःनियन्त्रणमा ल्याएको बताएका छन् ।






