ग्रीस, असार २८। ग्रीसमाथि उडिरहेको विमानको झ्याल अचानक फुट्दा एक यात्रुको ज्यान जोखिममा परेको घटना बाहिर आएको छ। ३० हजार फिटको उचाइमा विमानको क्याबिनमा चाप घट्दा ६१ वर्षीय एक यात्रुको टाउको र काँध झ्यालबाट बाहिर निस्किएको थियो।
शुक्रबार थेस्सालोनिकीबाट जर्मनीको मेमिङजेन जाँदै गरेको रायनएयरको बोइङ ७३७ विमानमा उक्त घटना भएको हो। ती यात्रु झ्यालको छेउमा बसिरहेका थिए। जब झ्याल फुट्यो, उनी बाहिर निस्कन थाले। तर नजिकै बसेकी उनकी श्रीमतीले उनका दुवै खुट्टा बलियोसँग समातेर उनलाई बाहिर खस्नबाट रोकिन्। त्यसपछि अर्का यात्रुले पनि मद्दत गरे र उनलाई भित्र तानियो। सिटबेल्ट लगाएका कारण उनी पूर्ण रूपमा बाहिर निस्कनबाट जोगिए।
ग्रीक मिडियाका अनुसार इन्जिनको कुनै भाग उछिट्टिएर झ्यालमा ठोक्किएपछि यो दुर्घटना भएको हुन सक्ने अनुमान छ। तर यसको आधिकारिक पुष्टि भएको छैन।
रायनएयरले एक विज्ञप्ति जारी गर्दै विमानलाई सुरक्षित रूपमा थेस्सालोनिकी फर्काइएको जानकारी दिएको छ। कम्पनीले घाइते यात्रुको अवस्था स्थिर रहेको र उपचार भइरहेको बताएको छ। अन्य यात्रुहरूलाई गन्तव्यमा पुर्याउन अर्को विमानको व्यवस्था गरिएको थियो। हाल उक्त घटनाको अनुसन्धान भइरहेको छ।






