कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इबोला संक्रमणको जोखिम बढेको भन्दै प्रजातान्त्रिक गणतन्त्र कंगोमा रहेका अमेरिकी नागरिकलाई तत्काल व्यावसायिक उडानमार्फत अमेरिका फर्किन रोक लगाएको छ ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार यातायातसम्बन्धी टाइटल ४९ कानुनी व्यवस्थाअन्तर्गत जारी गरिएको आदेशअनुसार कंगोमा रहेका वा हालै त्यहाँबाट बाहिरिएका अमेरिकी नागरिकलाई कम्तीमा २१ दिन तेस्रो मुलुकमा बसेपछि मात्र अमेरिका प्रवेश गर्न अनुमति दिइनेछ । त्यसअघिसम्म उनीहरूको नाम उडान निषेध सूचीमा राखिनेछ ।

यो निर्णय कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिरहेका बेला गरिएको हो । आइतबार सार्वजनिक सरकारी तथ्यांकअनुसार देशभर इबोलाका पुष्टि भएका संक्रमितको संख्या १ हजार ९२६ पुगेको छ भने ७०२ जनाको मृत्यु भइसकेको छ । इबोला संक्रमित व्यक्ति वा जनावरको शरीरबाट निस्कने तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा सर्ने गम्भीर भाइरल रोग हो । यसका लक्षणमा उच्च ज्वरो, बान्ता तथा शरीरभित्र र बाहिर रक्तस्राव हुन सक्छ ।

अमेरिकी अधिकारीका अनुसार मंगलबार कंगोबाट अमेरिका फर्किने तयारीमा रहेका करिब दुई दर्जन अमेरिकी नागरिक यस निर्णयबाट प्रभावित हुनेछन् । उनीहरूलाई प्रतीक्षा अवधिभर अमेरिकी विदेश मन्त्रालयले आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ । यसअघि सोमबार अमेरिकी स्वास्थ्य तथा मानव सेवा मन्त्री रोबर्ट एफ केनेडी जुनियरले इबोलाको जोखिम बढेको उल्लेख गर्दै विशेष आदेशमा हस्ताक्षर गरेका थिए । उक्त आदेशमा संक्रमण कंगोको राजधानी किन्शासाबाट केही घण्टाको दूरीसम्म फैलिसकेको उल्लेख गरिएको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गत शुक्रबार कंगोमा कार्यरत एक अमेरिकी मानवीय सहायता संस्थाका कर्मचारीमा बुन्डिबुग्यो प्रकारको इबोला भाइरस पुष्टि भएको जनाएको थियो । त्यस्तै, कंगोमा संक्रमित भएका एक अमेरिकीलाई सोमबार जर्मनीको फ्र्याङ्कफर्ट विश्वविद्यालय अस्पतालमा उपचारका लागि भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । यसअघि मे महिनामा पनि डाक्टर पिटर स्टाफोर्ड नामका अर्का अमेरिकी नागरिक इबोलाबाट संक्रमित भएपछि उपचारका लागि जर्मनी लगिएको जानकारी अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको थियो ।

Related posts