वासिङ्टन । इरानसँग अझै ठूलो मात्रामा क्षेप्यास्त्र, ड्रोन र रकेट मौज्दात रहेकाले लामो समयसम्म युद्ध जारी रहेमा इरान अमेरिकाभन्दा तुलनात्मक रूपमा राम्रो अवस्थामा हुन सक्ने एक अमेरिकी सैन्य विश्लेषकले बताएका छन्।
सीएनएनसँग कुरा गर्दै अमेरिकी वायुसेनाका पूर्व कर्णेल तथा सैन्य विश्लेषक सेड्रिक लेटनले इरानले आफ्नो प्रारम्भिक हतियार भण्डारको करिब दुईतिहाइ हिस्सा अझै सुरक्षित राखेको अनुमान व्यक्त गरेका छन्। उनका अनुसार अमेरिकाले महिनौँदेखि जारी राखेको हवाई आक्रमणका बाबजुद इरानसँग अझै पर्याप्त मिसाइल, ड्रोन र रकेट उपलब्ध छन्।
लेटनले अमेरिकाले इरानविरुद्ध यति धेरै उच्चस्तरीय र महँगा सटीक हतियार प्रयोग गरिरहँदा अन्य सम्भावित सुरक्षा चुनौतीका लागि आवश्यक हतियारको उपलब्धता प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।
यसैबीच, सीएनएनका अनुसार अमेरिकी संयुक्त सैन्य प्रमुखहरूको समितिका अध्यक्ष जनरल ड्यान केनले पनि गत शुक्रबार ह्वाइट हाउसमा भएको बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष अमेरिकी हतियार भण्डार घट्दै गएको विषयमा चिन्ता व्यक्त गरेका थिए। इरानसँगको युद्ध अझै चर्किएमा त्यसले अमेरिकी सैन्य क्षमता र अन्य सुरक्षा दायित्वमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी उनले दिएको स्रोतहरूले बताएका छन्।






