एक दशकपछि अमेरिकाले किन किन्यो जापानी येन?

वासिङ्टन डीसी। अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेपछि अमेरिकाले एक दशकभन्दा बढी समयपछि पहिलो पटक येन खरिद गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार पत्रकारहरूसँग कुरा गर्दै जापानलाई सहयोग गर्न अमेरिकाले येन खरिद गरेको बताए। यो कदम दुई देशबीचको मित्रताको संकेत भएको र यसले विश्व अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने दाबी ट्रम्पले गरे।

न्यूयोर्क फेडरल रिजर्भ बैंकले अमेरिकी ट्रेजरी विभागका तर्फबाट युरो बेचेर जापानी येन खरिद गरेको फाइनान्सियल टाइम्सले जनाएको छ। विदेशी विनिमय बजारमा देखिएको अस्थिरता नियन्त्रण गर्न अमेरिका र जापानले संयुक्त रूपमा हस्तक्षेप गरेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताए। आवश्यक परे आगामी दिनमा पनि दुवै देशले संयुक्त हस्तक्षेप गर्न सक्ने बेसेन्टको भनाइ छ।

रोयटर्सले सार्वजनिक गरेको एउटा तस्बिरमा स्कट बेसेन्टको नोटप्याडमा गर्नुपर्ने कामको सूचीअन्तर्गत ५ देखि १० अर्ब अमेरिकी डलर बराबरको जापानी येन खरिद गर्ने योजना लेखिएको देखिएको थियो। ट्रम्पले यो कदमबाट अमेरिका पनि आर्थिक रूपमा लाभान्वित हुने दाबी गरे, तर त्यसको विस्तृत कारण भने खुलाएनन्।

जापानसँगको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै ट्रम्पले दोस्रो विश्वयुद्धको पर्ल हार्बर आक्रमणको प्रसंगलाई हल्का व्यङ्ग्यात्मक शैलीमा स्मरणसमेत गरे।

Related posts