भोटेकोशी बाढी: म्याग्दीका तीन पालिकाद्वारा दुई/दुई लाख सहयोग

म्याग्दी ।  भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन स्थापनका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा म्याग्दीका तीन स्थानीय तहहरूले रु. छ लाख सहयोग गरेका छन् ।

धवलागिरि, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाले कोषमा रु। दुई/दुई लाख जम्मा गरेका हुन् । यसैगरी कोषमा बेनीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले रु। एक लाख ५१ हजार जम्मा गरेको छ ।

यसैगरी यही भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीपछि रसुवामा निर्माणाधीन दुई सय १६ मेगावाट क्षमताको त्रिशूली जलविद्युत आयोजनामा कार्यरत म्याग्दीको मालिका गाउँपालिका–४ छापका भविन्द्र रेग्मी सम्पर्कविहीन भएको आफन्त बजुराम रसाइलीले बताए ।

यही भदौ ९ गते परिवारसँग फोनमा कुराकानी गरेका रेग्मी बाढीपछि बेपत्ता भएपछि खोजतलास गरिदिन परिवार र आफन्तले अनुरोध गरेका छन् । रेग्मी १८ महिनादेखि आयोजनाको ठेकेदार कम्पनीमा कामदारको रूपमा कार्यरत थिए ।

Related posts