समरकन्द, उज्बेकिस्तान । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औँ चेस ओलम्पियाड पाँचौँ चरणमा एकमात्र खेलाडी सिएम रुपेशले पानामाका २२०३ रेटेड एफएम एलेसिया तापिया ओस्तोलाजा सँग बराबरी गर्दै ०.५ अंक नेपालको खातामा जोड्न छन्।
चेस टिम गेममा चार जना खेलाडीको समूहले प्रत्येक चरणमा चार चार जनाको खेल मध्ये कमसेकम दुई जीत र एक बराबर नतिजा प्राप्त गर्दै २.५ जोड्न सके पूर्ण २ अंक प्राप्त गर्ने प्रावधान रहँदै आएको छ।
तर नेपालको पुरुष टिमले पाँचौं चरणमा रुपेशको बराबरी सँगै ०.५ – ३.५ अंकको नतिजा आत्मसाथ गर्दै अंक बिहिन हुन पुगे। यससँगै पुरुष टोलीले चुनौतीपूर्ण प्रतिद्वन्द्वीको सामना गर्दै पराजय बेहोरेका छन्।
पानामाका उच्च रेटेड खेलाडीविरुद्ध नेपालका खेलाडीहरूले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि अपेक्षित नतिजा निकाल्न भने सकेनन्।
आज पहिलो बोर्डमा २०९३ रेटेड सिएम पुरुषोत्तम सिलवालले २३४४ रेटेड आईएम रोबेर्टो कार्लोस सान्चेज अर्भारेज विरुद्ध प्रतिस्पर्धा गरे पनि पराजित भए।
तेस्रो बोर्डमा २०३८ रेटेड सिएम सुश्रुत दहाल २२८२ रेटेड आईएम जोर्ज लुईस बाउलेस रोड्रिगोयज सँग तथा चौथो बोर्डमा १९६७ रेटेड राजन सुवेदीले २१६२ रेटेड एफएम ईफ्रेन एन्ड्रेस रामोस एस्पिनोजा सँग हार व्यहोरे।
महिला टोली जमैका सँग हारे
महिला वर्गमा नेपालले जमैका विरुद्ध प्रतिस्पर्धा गरेको थियो। तर चारै बोर्डमा नेपाली खेलाडीहरूले कडा चुनौती प्रस्तुत गरे पनि सबै खेलमा पराजित हुन पुगे।
पहिलो बोर्डमा एनणजल महर्जन १९४३ रेटेड डब्लूएफएम, दोस्रो बोर्डमा कृतिसरा अधिकारी १९७४ रेटेड डब्लूआईएम रचेल मिलर, तेस्रो बोर्डमा पूजा भण्डारी १७४१ रेटेड डब्लूसिएम काजा गाईले सँग तथा चौथो बोर्डमा निहाना श्रेष्ठ १८५७ रेटेड डब्लूसिएम ग्याब्रिएला वाट्सन विरुद्ध हार ब्यहोरे।
पाँचौँ चरण नेपालका दुवै टोलीलाई कठिन रह्यो। विशेषगरी उच्च रेटिङ प्राप्त खेलाडीसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो अनुभव र क्षमता थप मजबुत बनाउने अवसर प्रदान गरेको छ।

अब नेपालका टोलीहरू आगामी चरणमा सुधारिएको प्रदर्शनसहित पुनरागमन गर्ने लक्ष्यमा रहनेछन्। नेपाली पुरुष टिमले छैटौं चरणमा एन्टिगुवा एण्ड बर्मुदा सँग तथा महिला टिमले जिम्बाबे सँग प्रतिस्पर्धा गर्ने छन्। जहाँ टोलीका क्याप्टेन द्वय किरिल कुदेरिनोभ तथा रिजेन्द्र राजभण्डारीले योजना दिने छन्।
यसैबीच एस्पो सेन्टरमा दैनिक हुने सिमलटानियस खेलमा आज प्रवक्ता राजु ताम्राकारले ईटालियन ग्रायण्ड मास्टर २४०२ रेटेड रोबर्टो मोग्रानजिन सँग बराबर खेल्दै पुरस्कार प्राप्त गरेका छन्। ४६ औं चेस ओलम्पियाडमा फिडेले नेपालका लागि ५० चेस वोर्ड र १० डिजिटल वोर्ड उपहार स्वरुप प्राप्त गर्ने तय भएको छ। महासंघका अध्यक्षको पहलमा नेपाल भित्रने खेल सामग्रीका लागि नेपाल सरकारले स्वीकृति प्रदान गर्नु पर्ने छ।






