झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्ध आजदेखि खोप अभियान सञ्चालन हुँदै छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार, असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहमा ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य छ । अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भएको र तयारी पूरा भएको कार्यालयले जनाएको छ ।
जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजार बढी स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले बताए । उनका अनुसार, झापामा जेइ संक्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कतासहित खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
जिल्लामा हालसम्म १३ जनामा जेई संक्रमण पुष्टि भएकामा सातजनाको मृत्यु भएको छ । मृत्यु भएका कसैले पनि जेइविरुद्धको खोप नलगाएको पाइएको उनले बताए । “लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटुन् भनेर स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक तयारी पूरा गरेका छौँ”, उनले भने, “खोप सुरक्षित भएकाले लक्षित समूहका नागरिकले अभियानमा सहभागी भएर खोप लगाउन आवश्यक छ ।”
स्वास्थ्य कार्यालयका अनुसार, गर्भवती, यसअघि खोप लगाउँदा गम्भीर एलर्जी (एनाफिलेक्सिस) भएको व्यक्ति तथा खोपका कुनै तत्त्वबाट गम्भीर एलर्जी भएका व्यक्तिले खोप लगाउनु हुँदैन । त्यस्तै, ज्वरो आएको अवस्थामा खोप नलगाइ ज्वरो निको भएपछि लगाउन सकिने जनाइएको छ ।
जेई क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो । संक्रमित चराचुरुंगी तथा सुँगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा जेइको संक्रमण सर्छ ।






