धनुषाबाट आरकेष्ट्रा नचाएको आरोपमा पाँचजना पक्राउ

धनुषा । प्रहरीले आरकेष्ट्रामार्फत अश्लील भोजपुरी गीतमा नचाएको आरोपमा धनुषाबाट पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका-७ का २३ वर्षीय श्‍याम पासवान (उद्घोषक), भारत उत्तरप्रदेश महराजगञ्‍ज इटहर्वा बस्‍ने २१ वर्षीय अनुशव मिश्र, भारत बिहार बेतिया अमोलिया सिङगरीका २५ वर्षीय सुनील पासवान र अमोलिया सिङगरीकी २१ वर्षीया रिनादेवी पासवान रहेकी छिन् ।

स्थानीय रामनारायण मण्डल केवट छोरा सानु मण्डलले कुनै पनि निकायबाट अनुमति समेत नलिइ आरकेष्ट्रा ल्याएर अश्लील भोजपुरी गीतहरु चर्को आवाजमा बजाएको आरोपमा स्थानीयहरुले उजुरी दिएपछि प्रहरी चौकी गिद्धा धनुषाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायक उपरीक्षक जितेन्द्र कुमार बस्‍नेतले बताए । साथै आयोजक २५ वर्षीय सानु मण्डल र सञ्‍चालक ३५ वर्षीय राम मनोहर अधिकारी भने फरार रहेको प्रहरीले जनाएको छ ।

Related posts