जुवाखालबाट पाँच लाखसहित आठजना पक्राउ

काठमाडौ । काठमाडौंको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले गएराति उनीहरुलाई पक्राउ गरेको हो।

कौडाको खालबाट पाँच लाख ११ हजार ५०० रुपैयाँ नगदसमेत बरामद भएको परिसरले आज एक विज्ञप्ती जारी गरी जनाएको छ। उनीहरुको विषयमा प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ।

Related posts