साफ च्याम्पियनसिप : फाइनल पुग्नका लागि नेपाल र भारत भिड्दै

काठमाडौं । बंगलादेशमा जारी यू १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत आज समूह चरणका अन्तिम खेल हुँदैछन्। जहाँ नेपालले उपाधि दाबेदार भारतको सामना गर्नेछ । प्रतियोगिताको फाइनल पुग्नका लागि आजको खेल निकै महत्त्वपूर्ण छ। त्यसैले नेपाल आज भारतलाई हराएर फाइनल पुग्न चाहन्छ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा दिउँसो पौने तीन बजेबाट सुरु हुने खेलमा जुन टिमले जित निकाल्छ त्यो टिम फाइनल पुग्नेछ। तर, खेल बराबरी भएमा नेपाललाई फाइदा हुनेछ। ‘हाम्रो अन्तिम तथा निर्णायक खेल भारतसँग रहेको छ। तर, त्यो खेलमा बराबरी पनि हामीलाई फाइदाको रूपमै रहेनछ,’ नेपाली टिमका प्रशिक्षक हरि ओम श्रेष्ठले भनेका छन्।

नेपाली टिम उपाधि लक्ष्यका साथ बंगलादेश पुगेको हो। पछिल्लो सिजन नेपाली टिमले फाइनलमा बंगादेशसँग हार बेहोरेको थियो। यो वर्ष नेपालले पहिलो खेल नै बंगलादेशसँग खेल्यो । बंगलादेश र नेपालबीचको खेल गोलरहित बराबरी भएको थियो। यता बंगलादेशले भारतविरुद्ध भने जित निकालेको थियो। त्यसैले फाइनलमा पुग्नका लागि भारतलाई अनिवार्य जित आवश्यक छ भने नेपाललाई बराबरी भए पनि पुग्नेछ।

अहिले नेपाल सात अंकका सात तालिकाको शीर्षस्थानमा छ। समान ७ अंक भएको बंगलादेश गोलअन्तरका आधारमा नेपालभन्दा पछि छ भने भारत ६ अंकका साथ तेस्रो स्थानमा छ।

भुटान र श्रीलंका भने फाइनल पुग्ने होडबाट बाहिरिइ सकेका छन्। आज नै पौने ७ बजे हुने खेलमा भने बंगलादेशले श्रीलंकाको सामना गर्नेछ। सो खेलमा बंगलादेशले हार बेहोरेको अवस्थामा भने नेपालले भारतसँग थोरै गोलअन्तरको हार बेहोरे पनि फाइनल पुग्ने सम्भावना कायम नै रहनेछ।

Related posts