चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हस्तक्षेप नगर्न डा: केसीको माग

काठमाडौं, ०५ माघ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा कुनै किसिमको हस्तक्षेप नगर्न माग गरेका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै केसीले आयोगको कार्य सम्पादनमा कुनै किसिमको हस्तक्षेप नगर्न माग गरेका हुन् । नाजायज मागसहित चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई दबाब दिने, धम्क्याउने र आक्रमणको प्रयास गर्ने तथा आयोगको कार्य सम्पादनमा अवरोध गर्ने काम भइरहेको भन्दै ध्यानाकर्षण गरेका हुन् ।

डा.केसीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ शिक्षा मन्त्रालयले नेपाल सरकारको निर्णय भन्दै चीनलगायत विभिन्न मुलुकमा चिकित्सा शिक्षाको स्नातक अध्ययन गरेका विद्यार्थीको बाँकी अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीप नेपालमै गर्ने व्यवस्था गर्नका लागि चिकित्सा शिक्षा आयोगलाई लेखी पठाएको कुरा हाम्रो जानकारीमा आएको छ । त्यस्तो व्यवस्था कानुनीरुपमा अवैध तथा व्यवहारिकरुपमा असम्भव भएको कुरा हामी नेपाल सरकारलगायत सम्बन्धित सबैलाई स्मरण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा ऐन जारी भइ एकीकृत प्रवेश परीक्षा लागू भइसकेको अवस्थामा त्यो प्रक्रियाबाहिरबाट आउने कुनै पनि विद्यार्थीले नेपालभित्र कुनै पनि चरणको पठनपाठनमा संलग्न हुने कानुनी बाटो रहँदैन । त्यस्ता विद्यार्थीको हकमा चिकित्सा शिक्षा आयोगले गर्न सक्ने र मिल्ने भनेकै आगामी साझा प्रवेश परीक्षामा उनीहरुलाई संलग्न हुन लगाएर योग्यताक्रमअनुसार फेरि पढाइ सुरु गर्न लगाउने हो । नेपालबाहिरका शिक्षण संस्थाहरुमा पढाइ शुरु गर्ने विद्यार्थीहरुसामु इन्टर्नसीपसहित पूरा पढाइ तिनै संस्थामा सकेर फर्कनुको विकल्प छैन।’

Related posts