काठमाडौँ, ०६ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा ११२ जनाले रक्तदान गरेका छन्। त्यस्तै बैंकको १ नम्बर प्रादेशिक कार्यालय विराटनगरमा भएको रक्तदानमा ५१ जना, गण्डकी प्रादेशिक कार्यालय पोखरामा ५७ जना, लुम्बिनी प्रादेशिक कार्यालय नेपालगञ्जमा २९ जना गरी कूल २४९ जनाले रक्तदान गरेको बैंकले जनाएको छ।
कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो।






