स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन भत्ता

तनहुँ, फागुन २६ । तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ।

घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो।

गाउँपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराएका ५० जनालाई तीन हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्।

गत दशैँदेखि यता स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई रकम वितरण गरिएको रानाले बताइन्। त्यसअघि पनि गाउँपालिकाले पोषण भत्ता वितरण गरिसकेको छ।

गत आर्थिक वर्षदेखि अध्यक्षसँग सुत्केरी कार्यक्रम सुरु गरिएको हो। मातृ शिशु मृत्युदर कम गराउन कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष रानाले बताइन्। उनका अनुसार पोषण भत्ता वितरण थालिएपछि स्वास्थ्य संस्थामा परीक्षण गराउन र सुत्केरी हुन आउनेको सङ्ख्या बढेको छ।

गाउँपालिकाले दिने तीन हजार पोषण भत्ता लिनलाई गर्भवतीले कम्तीमा चार पटक स्वास्थ्य परीक्षण गराएको हुनुपर्छ। म्याग्दे बाहिरका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुनेले भने यो सुविधा पाउँदैनन्। अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत १७९ जनालाई प्रोत्साहन रकम वितरण गरिएको छ। (रासस)

Related posts