लुम्बिनी प्रदेशमा दोस्रो र नेपालमै पाँचौँ स्थानमा पर्न सफल गुल्मी अस्पताल

इन्द्रजित नेपाली
गुल्मी, चैत १५ । गुल्मीको सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पताल न्यूनतम सेवा मापदण्डका आधारमा लुम्बिनी प्रदेशमा दोस्रो तथा देशभरमा पाँचौ स्थानमा परेको छ । न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा कपिलवस्तु अस्पताल पहिलो भएको हो ।

गुल्मी अस्पताल र बर्दिया बराबर अंक प्राप्त गरेर दोस्रो भएका छन् । विभिन्न सुचकहरुमा गरिएको मापदण्डमा गुल्मी अस्पताल ८६ प्रतिशत अंक प्राप्त प्रदेशमा दोस्रो तथा देशभरमा पाँचौ स्थानमा परेको न्यूनतम सेवा मापदण्ड मापनमा खटिएका कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बञ्जाडेले जानकारी दिए ।

साथै उनले अस्पतालमा बिशेषज्ञ डाक्टर नभएको, सामाजिक लेखा परीक्षण नगरिएको र विद्युतीय हाजिरी नभएकोले त्यसतर्फ ध्यान दिन पनि आग्रह गरेका थिए । न्यूनतम सेवा मापदण्ड सार्वजानिक कार्यक्रममा गुल्मी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्याले सेवा प्रवाह सम्बन्धि जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा नगरपालिका प्रमुख डिल्लीराज भुसालले आफै संस्थापक अस्पताल विकास समितिको अध्यक्ष भएको भन्दै सुधार गर्नपर्ने कुराहरूमा कर्मचारीले ध्यान दिनुपर्ने बताए । कुनै पदमा रहेर वा नरहेर पनि सदैव अस्पतालको हकहितमा निरन्तर काम गरिहने उनले बताए । उनले उत्कृष्ट अंक ल्याएकोमा सबै कर्मचारी बधाई समेत दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले अस्पतालले उत्कृष्ट अंक ल्याएकोमा बधाई दिदै सेवा प्रवाहमा निरन्तर चिन्तन भइरहेको बताए । अस्पतालमा अपुग कुरा पूरा गर्न प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गरे । गुल्मी अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले सेवा प्रवाहमा उत्कृष्ट अंक ल्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिए ।

अबको सेवा प्रवाहमा पनि यस्तै किसिमको अवस्था सन्तुलन राख्नपर्ने अध्यक्ष पाण्डेले बताए । अस्पतालका अल्पकालीन र दिर्घकालिन सुधारका बिषयमा आफूहरूको ध्यान जाने पाण्डेले प्रतिबद्धता समेत जनाए । नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले गुल्मी अस्पतालको अवस्था परिवर्तन भइसकेको बताए ।

पत्रकार अर्यालले अस्पतालमा जनशक्तिको अभाव भएको भन्दै यसको परिपुर्ति गर्न अस्पताललाई आग्रह गरे । मिडियाको तर्फबाट सदैव सहयोग हुने बताउदै पत्रकार टोपलाल अर्यालले समन्वय गर्नु नै आवश्यक रहेकोे बताए ।

Related posts