जजिराले भैरहवाबाट कुवेत २० प्रतिशत सस्तोमा यात्रु बोक्ने

काठमाडौ । कुवेतको जजिरा एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआई)को तुलनामा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट २० प्रतिशत सस्तो टिकटमै यात्रुलाई सेवा दिने भएको छ ।

भैरहवा–कुवेत रुटबाट यात्रा गर्ने यात्रुलाई हवाई भाडा सस्तो पर्ने नेपालका लागि जजिराको जिएसए सोसाइटी ट्राभलका रविचन्द्र सिंहले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षित गर्न एक वर्षसम्म ल्यान्डिङ, पार्किङ सेक्युरिटी, उड्डयन सहायतालगायत सम्पूर्ण सेवामा शतप्रतिशत छुट दिने निर्णय गरी स्वीकृतिका लागि पर्यटन मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुरु भएको गौतम बुद्ध विमानस्थलमा जजिराले पहिलो व्यावसायिक उडान सुरु गरेको छ । जजिराले सातामा तीन दिन कुवेत–भैरहवा उडान गर्ने तालिका बनाएको छ । दुई वर्षअघि नेपालमा व्यावसायिक उडान सुरु गरेको जजिरा एयरवेजले कुवेत–काठमाडौं दैनिक एउटा उडान गरिरहेको छ । निकट भविष्यमा भैरहवामा पनि उडान संख्या बढाएर सातामा सातवटै पुर्‍याउने सिंहले बताए ।

कुवेत नेपालीहरूको श्रम गन्तव्य हो । वैदेशिक रोजगारीमा जाने यात्रुलाई हेरेर जजिराले भैरहवा उडान थालेको हो । गौतम बुद्धको जन्मस्थान लुम्बिनी सीधा हवाई सम्पर्कबाट जोडिँदा पर्यटकको संख्या पनि बढ्ने जजिराका भाइस–प्रेसिडेन्ट रविन्द्रन भाराथनले बताए ।

गौतम बुद्धलाई पर्यटक बोक्ने हब विमानस्थल बनाउने भनिए तापनि तत्कालका लागि नारायणीदेखि पश्चिम क्षेत्रका श्रमिक र अध्ययन, भ्रमण तथा विदेशमै बसोवास गर्नेहरू नै मुख्य यात्रु हुन् । नयाँ विमानस्थलमा जोखिम हुँदाहुँदै पनि आफूहरूले भैरहवामा उडान सुरु गरेको भाइस–प्रेसिडेन्ट भाराथनले बताए । यो उडानले नेपालीसँगै विदेशी पर्यटकलाई लुम्बिनी तथा पश्चिम क्षेत्रमा सीधै जान सहज हुने उनको भनाइ छ ।

Related posts