माओवादी अध्यक्ष दाहाल र गृहमन्त्री खाँणबीच भेटवार्ता

काठमाडौँ, जेष्ठ २१ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । मन्त्री खाँणले अध्यक्ष दाहाललाई भेट्न शनिबार बिहान ललितपुरको खुमलटारस्थित उनकै निवासमा पुगेका थिए ।

भेटमा स्थानीय तह निर्वाचनको समिक्षा, समसामयिक राजनीति, संघीय संसद्‌मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्‌मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको मन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए । भेटमा सत्तारुढ दलहरूको गठबन्धनको निरन्तरताबारे समेत छलफल भएको थियो ।

सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरिरहेकाले मन्त्री खाँणले त्यसबारे समेत दाहालसँग छलफल गरेका थिए ।

Related posts