२७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाको दोस्रो खोप दिइँदै

काठमाडौं । कोरोनाको पहिलो मात्रा खोप लगाएका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि दोस्रो मात्रा खोप दिइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई आजदेखि आउँदो आइतबारसम्म दोस्रो मात्रा खोप दिन लागिएको हो।

दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ । बालबालिकालाई पहिलो मात्रा जस्तै दोस्रो मात्रा खोप पनि विद्यालयमै लगाइने मन्त्रालयले जनाएको छ ।

सरकारले पहिलो चरणमा प्रदेश-१ को झापा, इलाम, मोरङ र सुनसरी, मधेस प्रदेशको सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी, वाग्मती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर, गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप लगाउन सुरु गरेको हो।

Related posts