दार्चुलाको बंगाबगड क्षेत्रमा बाढी : करिब डेढ दर्जन घर बगायो, ११ जना बेपत्ता

दार्चुला, भदौ २५ । गएरातीदेखिको अविरल वर्षासँगै आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा क्षति पुर्‍याएको छ । बाढीले बंगाबगडको दशरथनगर स्कुलसँगै जोडिएका रोड तल तिरका करिब डेढ दर्जन घरहरू बगाएको छ ।

यस्तै एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए । हालसम्म ११ जना बेपत्ता भएको उनले बताए । पानी रोकिएपछि घटनास्थलमा उद्दार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक मगरले जानकारी दिए । नदीले कटान गर्ने क्रम नरोकिएकोले स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

Related posts