ठूला दलले समानुपातिकको बन्दसूची आज बुझाउने

काठमाडौं । प्रमुख दलहरूले ४ मंसिरका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची सोमबार मात्रै बुझाउने भएका छन्। निर्वाचन आयोगले आइतबार र सोमबार बन्दसूची बुझाउने कार्यतालिका बनाएको थियो।

आइतबार साना चार दलले मात्रै बन्दसूची बुझाएका छन्। आइतबार नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल खम्बुवान साझा पार्टी र ताम्सालिङ् लोकतान्त्रिक पार्टीले सामानुपातिकतर्फको बन्दसूची बुझाएका छन्।

आयोगका अनुसार प्रदेश १ बाट नेपाल खुम्बुवान पार्टी र बागमतीबाट ताम्सालिङ लोकतान्त्रिक पार्टीले बन्दसूची बुझाएका हुन्। प्रतिनिधि सभाको समानुपातिकका लागि विभिन्न दलका ६८ वटा निवेदन परेको आयोगले जनाएको छ ।निबेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिवव २० हजार हुने आयोगले जनाएको छ।

मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधिसभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट आउने व्यवस्था रहेको छ। यस व्यवस्था अनुसार प्रतिनिधि सभामा एक सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट चयन हुने छन्।

समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेश १ मा विभिन्न ६३ दलबाट ५५ निवेदन, मधेश प्रदेशबाट ६७ दलबाट ५९ निवेदन, बागमती प्रदेशमा ६६ दलबाट ५८ निवेदन, गण्डकी प्रदेशमा ६० दलबाट ५२ निवेदन, लुम्बिनी प्रदेशमा ६२ दलबाट ५४ निवेदन, कर्णाली प्रदेशमा ५७ दलबाट ४९ निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८ दलबाट ५० निवेदन परेका छन्।

प्रमुख दलहरूले भने आजमात्रै बन्दसूची बुझाउने तयारी गरेका छन्। दलहरू बन्दसूचीका लागि आन्तरिक छलफलमा छन्।

Related posts