‘आचारसंहीता उल्लंघन गर्नेलाई कारवाही गर्न हात नकमाउनूस्’

काठमाडौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ। सोमबार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहीता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न निर्दशन दिएका हुन्। 

केन्द्रीय निर्वाचन आचारसंहीता अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहीता उल्लंघनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कञ्जुस्याईं नगर्न पनि आग्रह गरे। उनले मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा उनको क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्नसक्ने पनि स्पष्ट पारे। उनले आचारसंहीता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीहरुको भुमिकालाई स्पष्ट रुपमा उल्लेख गरिएको बताए।

आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरुले आचारसंहीता उल्लंघन गरेको उजुरीहरु आएकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्नपनि निर्देशन दिए। आचारसंहीता पालना भएको नभएमा कठोरतापूर्वक कारबाही गर्नुपर्ने उनले बताए। आयुक्त भण्डारीले आचारसंहीता पालना गराउने सम्बन्धमा कानूनमा अस्पष्टता भएमा निर्वाचन आयोगमा लेखेर पठाउन पनि अनुरोध गरे।

Related posts