बैतडीमा घाँटी रेटिएको अवस्थामा एक युवती मृत र किशोरी घाइते फेला

धनगढी, मंसिर १४ । बैतडीमा एक युवती घाँटी रेटिएको अवस्थामा मृत र एक किशोरी घाइते अवस्थामा फेला परेका छन् । 

बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै रहेको जंगलमा २१ वर्षीय माया लुहारको घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी हुन् । यस्तै दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहार पनि घाँटी रेटिएकै अवस्थामा घाइते फेला परेकी हुन् ।

मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका– ४ शैलेडाका हुन् । मंगलबार बिहान १० बजे घरबाट लुगा सिलाउन जाने भन्दै निस्केका दुवैजना घर नफर्केपछि खोजीतलास गर्ने क्रममा बुधबार उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।

घाइते नेहाको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ । अहिले प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ । उनीहरूको हत्यारा पत्ता लगाउन घटनाको सुक्ष्म तरिकाले अनुसन्धान गरिने प्रहरी निरिक्षक जोशीले जानकारी दिए ।

Related posts